मधेशमा ‘घण्टी’ को वर्चस्व: ३२ मध्ये ३० सिटमा जित, धनुषा १ विवादित


eShilalekh

२५ फाल्गुन २०८२, सोमबार १३:३६

सिमराः प्रतिनिधिसभा सदस्यको हालै सम्पन्न निर्वाचनले मधेश प्रदेशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको छ । प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ३० सिट जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित तथा ऐतिहासिक सफलता हासिल गरेको छ ।

यस निर्वाचनमा नेपाली कांग्रेसले मात्र एउटा सिट जितेर आफ्नो उपस्थिती जोगाएको छ भने नेकपा एमाले तथा मधेशकेन्द्रित दलहरू अधिकांश क्षेत्रमा पराजित हुँदै प्रभाव कायम राख्न असफल देखिएका छन् ।

धनुषा क्षेत्र नम्बर १ मा मतपरिणाम विवादमा परेपछि निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न रोक लगाएको छ । मतगणनाको नतिजा अनुसार बारा, पर्सा, सप्तरी, सिरहा, महोत्तरी र सर्लाही जिल्लाका चारै निर्वाचन क्षेत्रमा रास्वपाले जीत निकाल्दै क्लिन स्वीप गरेको छ ।

बारा र पर्सामा पनि क्लिन स्वीप

बाराका चारै क्षेत्रमा रास्वपाले जीत निकालेको छ । क्षेत्र नम्बर १ मा गणेश भिमल, क्षेत्र नम्बर २ मा चन्दन कुमार सिंह, क्षेत्र नम्बर ३ मा अरविन्द साह र क्षेत्र नम्बर ४ मा रहबर अन्सारी विजयी भएका छन् ।

यसैगरी पर्सामा पनि चारै सिट रास्वपाले जितेको छ । क्षेत्र नम्बर १ मा बुद्धिप्रसाद पन्थ ‘हरि’, क्षेत्र नम्बर २ मा सुशील कुमार साह कानु, क्षेत्र नम्बर ३ मा रमाकान्त प्रसाद चौधरी र क्षेत्र नम्बर ४ मा टेकबहादुर साखे निर्वाचित भएका छन् ।

रौतहटमा कांग्रेसको एक मात्र सिट

रौतहट क्षेत्र नम्बर १ मा रास्वपाका राजेश कुमार चौधरी, क्षेत्र नम्बर २ मा कांग्रेसका मोहम्मद फिरदौस आलम, क्षेत्र नम्बर ३ मा रास्वपाका रविन्द्र पटेल र क्षेत्र नम्बर ४ मा रास्वपाका गणेश पौडेल विजयी भएका छन् ।

सप्तरीमा चारै सिट रास्वपालाई

सप्तरी क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पाकुमारी चौधरी, क्षेत्र नम्बर २ मा रास्वपाका रामजी यादव, क्षेत्र नम्बर ३ मा अमरकान्त चौधरी र क्षेत्र नम्बर ४ मा सीतराम साह विजयी भएका छन् ।

सिरहामा पनि रास्वपाको वर्चस्व

सिरहा क्षेत्र नम्बर १ मा रास्वपाका बब्लु यादव गुप्ता, क्षेत्र नम्बर २ मा शिवशंकर यादव, क्षेत्र नम्बर ३ मा शम्भु कुमार यादव र क्षेत्र नम्बर ४ मा तपेश्वर यादव विजयी भएका छन् ।

धनुषामा तीन सिट रास्वपालाई, एक विवादित

धनुषा क्षेत्र नम्बर १ को मतपरिणाम विवादमा परेपछि परिणाम रोकिएको छ । क्षेत्र नम्बर २ मा रास्वपाका रामविनोद यादव, क्षेत्र नम्बर ३ मा मनिष झा र क्षेत्र नम्बर ४ मा राजकिशोर महतो विजयी भएका छन् ।

महोत्तरीमा चारै सिट रास्वपालाई

महोत्तरी क्षेत्र नम्बर १ मा रास्वपाका प्रमोद कुमार महतो, क्षेत्र नम्बर २ मा दीपक कुमार साह, क्षेत्र नम्बर ३ मा उज्ज्वलकुमार झा र क्षेत्र नम्बर ४ मा गौरी कुमारी निर्वाचित भएकी छन् ।

र सर्लाहीमा पनि रास्वपाको वर्चस्व

सर्लाही क्षेत्र नम्बर १ मा रास्वपाकी नितिमा भण्डारी कार्की, क्षेत्र नम्बर २ मा रविन महतो, क्षेत्र नम्बर ३ मा नरेन्द्र साह कलवार र क्षेत्र नम्बर ४ मा अमरेश कुमार सिंह विजयी भएका छन् ।

यस निर्वाचन परिणामले मधेश प्रदेशको परम्परागत राजनीतिक समीकरणलाई पूर्ण रूपमा उल्ट्याएको छ । दशकौंसम्म प्रभाव राख्दै आएका प्रमुख दलहरू कमजोर बनेका छन् भने रास्वपा मधेशको प्रमुख शक्तिका रूपमा उदाएको देखिएको छ । धनुषा १ को विवादित परिणाम सार्वजनिक भएपछि प्रदेशको अन्तिम राजनीतिक तस्वीर अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्