सिमरा–डुमरबाना स्कुल हब जीतपुरद्वारा आयोजित हाजिरजवाफ प्रतियोगितामा अक्षरा पाठशाला प्रथम

सिमराः सिमरा–डुमरबाना स्कुल हब जीतपुरको आयोजनामा सिमरा कलेजको सभाहलमा सम्पन्न अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगितामा अक्षरा पाठशाला प्रथम भएको छ ।
विद्यार्थीहरूको सामान्य ज्ञान, तर्कशक्ति र द्रुत उत्तर दिन सक्ने क्षमताको परीक्षण गरिएको उक्त प्रतिस्पर्धामा सिमरा पब्लिक स्कुल (एस.पि.ई.एस.) ले द्वितीय र बारा एकता एकेडेमीले तृतीय स्थान हासिल गरेका छन् ।
यस क्षेत्रका कुल ९ वटा विद्यालयहरूको सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूले शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरेका थिए ।
सिमरा डुमरबाना स्कुल हबका संयोजक वसन्त ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सिमरा कलेज व्यवस्थापन समितिका अध्यक्ष मधुकर अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थिती रहेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि अधिकारीले यस्ता शैक्षिक क्रियाकलापले विद्यार्थीहरूको लुकेको प्रतिभा उजागर गर्नुका साथै विद्यालयहरूबीच आपसी सहकार्य र भाइचाराको वातावरण मजबुत बनाउने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार यस किसिमको प्रतिस्पर्धाले विद्यार्थीहरूमा आत्मविश्वास बढाउन र स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
यसैगरी कार्यक्रममा सिमरा डुमरबाना स्कुल हबको तर्फबाट सिमरा कलेजलाई सामाजिक उत्तरदायित्व स्वरूप २५ थान प्लास्टिकका कुर्सी हस्तान्तरण गरिएको थियो । यस सहयोगले कलेजमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहजता थपिने कलेज प्रशासनले जनाएको छ ।
कार्यक्रममा स्कुल हबका संयोजक ढकालले २०८२ सालभित्र हबले आफ्नो वार्षिक क्यालेन्डर अनुसार २१ वटा विभिन्न विधाका प्रतियोगिताहरू सफलतापूर्वक सञ्चालन गरेको जानकारी दिए ।
हाल यस हबमा सिमरा र डुमरबाना क्षेत्रका १२ वटा विद्यालयहरू आबद्ध रहेका छन् । आगामी दिनमा पनि शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने र विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने लक्ष्य हबले राखेको छ ।






