ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षामा प्रतिबन्ध, अटेर गरे कारबाही हुने

सिमराः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी नयाँ शैक्षिक सत्रदेखि देशभर सञ्चालन हुने प्रवेश परीक्षा (इन्ट्रान्स) तयारी कक्षा र ब्रिज कोर्सहरूमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै २०८३ साल वैशाख १ गतेदेखि यस्ता कुनै पनि कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार विद्यालय तह र उच्च शिक्षाको भर्ना प्रक्रिया अगाडि सञ्चालन गरिने यस्ता कक्षाहरूले शिक्षा क्षेत्रमा विभिन्न नकारात्मक असर पारेका छन्। ब्रिज कोर्सका नाममा अभिभावकहरूमाथि अनावश्यक र चर्को आर्थिक बोझ थपिएको मन्त्रालयको ठहर छ। प्रतिस्पर्धाको नाममा सञ्चालिने यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पारेको पाइएको छ।
यस्ता तयारी कक्षाहरूले शिक्षामा समतामूलक पहुँचको सिद्धान्तलाई कमजोर बनाएको मन्त्रालयको दाबी छ। ‘ब्रिज कोर्स र इन्ट्रान्स तयारीका नाममा भइरहेका गतिविधिले विद्यार्थीलाई तनाव दिने र अभिभावकलाई आर्थिक रूपमा शोषण गर्ने काम मात्र गरेको छ। त्यसैले शिक्षामा समानता कायम गर्न यो कदम चालिएको हो’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले आगामी वैशाखदेखि लागू हुने गरी यो निर्णय कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकाय र स्थानीय तहहरूलाई समेत आग्रह गरेको छ। यदि सरकारी निर्देशनको अवज्ञा गरी लुकिछिपी वा खुला रूपमा यस्ता कक्षाहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।





