देशको रक्षा गर्न गठबन्धनः प्रचण्ड


eShilalekh

२७ बैशाख २०७९, मंगलवार २२:१६

सिमराः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पूष्पकमल दहाल प्रचण्डले जनताको हित र देशको रक्षा गर्नका लागि गठबन्धनको आवश्यकता रहेको बताएका छन् ।

बाराको जीतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले बर्तमान गठबन्धनलाई बर्षौसम्म लिएर अघि बढ्ने बताए । गठबन्धनलाई तोड्ने प्रयास भईरहेपनि सफल हुन नदिने बताए ।

यसअघि चितवनमा आयोजित चुनावी सभामा आफ्नी छोरी रेनु दहाललाई नेपाली कांग्रेसका कार्यकर्ताले भोट नहाले देश दुर्घटनामा जाने भन्दै अभिव्यक्ति दिएपछि विवादमा आएका प्रचण्डले जीतपुरमा भने संयमता देखाए । जीतपुरमा आयोजित कार्यक्रममा उनले गठबन्धनको आवश्यकतालाई मात्रै जोड दिए ।

केपी ओली नेतृत्वको सरकारले संविधानसभा विगठन गर्न खोजेपछि त्यसको विरुद्ध गठबन्धन अघि बढेको प्रचण्डको भनाई थियो । शान्ती प्रक्रियाको अन्तिम टुंगो लगाउन समेत गठबन्धनको आवश्यकता रहेको भन्दै प्रचण्डले देशको सम्पूर्ण जिम्मेवारी पाँच दलको काधमा आएको दाबी गरे ।

निर्धारित समयभन्दा निकै ढिला कार्यक्रममा आएका प्रचण्डले छोटो मन्तब्य राख्दै आफ्नो उम्मेदवारका लागि मत दिन अनुरोध गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुख पदमा नेपाली कांग्रेसकी मेघा शाही उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्