जीतपुरसिमरामा सर्पदंश उपचार केन्द्रको माग गर्दै एमाले नेता पौडेलले गराए ध्यानाकर्षण


eShilalekh

२ आश्विन २०८३, शुक्रबार १९:२४

सिमराः नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेलले स्वास्थ्य सेवा विभागका निमित्त निर्देशक एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक अनुज भट्टचनसँग भेट गरी जीतपुरसिमरा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि ध्यानाकर्षण गराएका छन् ।

सर्पदंश उपचार केन्द्र नहुँदा भएको मानवीय क्षतिको विषयमा जानकारी गराउँदै पौडेलले तत्काल सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति प्रदान गर्न माग गरेका हुन् । भेटमा केही हप्तामै सेवा सुरु हुने जानकारी पाएको नेता पौैडेलले बताएका छन् ।

पछिल्लो तीन महिनाको छोटो अवधिमा मात्रै सर्पको टोकाइबाट तीन जनाले ज्यान गुमाउनुपरेको छ । असोज १ गते जीतपुरसिमरा उपमहानगरपालिका-४ की ४२ वर्षीया मञ्जु बन्जाराको सर्पदंशका कारण मृत्यु भएको थियो । यसअघि गत असार ८ गते जीतपुरसिमरा-१५ डाँडाटोलकी चार वर्षीया बालिका सुप्रिना दोङ र असार ११ गते जीतपुरसिमरा-१४ की पाँच वर्षीया बालिका दियान्सी रानामगरको सर्पको टोकाइबाट ज्यान गएको थियो । उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा उनीहरूको मृत्यु भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रवी भाष्करले अनुमतिका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पटक-पटक पत्राचार गर्दा पनि अनुमति पाउन नसकेको बताउँदै आएका थिए । उपमहानगरपालिकाले पछिल्लो पटक गत असार १२ गते अनुमतिका लागि पत्र पठाएको थियो ।

यसैबिच महाशाखाले मधेस प्रदेशमा सर्पदंश र रेबिजसम्बन्धि तालिमको आयोजना गरेको छ । शुक्रबारदेखि प्रादेशिक अस्पताल जनकपुरमा सुरु भएको तालिममा जीतपुरसिमरा नगर अस्पतालका दुई जना स्वास्थ्यकर्मी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्