गठबन्धन ‘लुतो’ हो, निर्वाचनबाट फाल्नुपर्छः नेता पोखरेल


eShilalekh

२७ बैशाख २०७९, मंगलवार २२:२६

सिमराः नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ दलको पाँच दलीय गठबन्धन देशकै लागि लुतो रहेको र यसलाई स्थानीय तहको निर्वाचनबाट फाल्नुपर्ने बताएका छन् ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा एमाले जीतपुरसिमरा निर्वाचन परिचालन कमिटीले मंगलवार सिमरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदै नेता पोखरेलले देशकै लागि लुतो सावित भएको गठबन्धनलाई फाल्न जरुरी रहेको बताए ।
‘एमालेविरुद्धको गठबन्धन लुतो हो, यसले फाईदा गर्दैन’ पोखरेलले भने ‘यसलाई फाल्न जरुरी छ । जनताले पनि अब गठबन्धनलाई बुझिसकेकाले बैशाख ३० गते हुने निर्वाचनबाट गठबन्धन नामको लुतो फालिनेछ ।’

एमालेविरुद्धको गठबन्धन अब धेरै समय टिक्न नसक्ने पोखरेलको भनाई थियो । व्यक्तिगत स्वार्थका लागि गरिएको गठबन्धन देश र जनताभन्दा माथी नरहेको उनले टिप्पणी गरे । देश र जनताको पक्षमा काम गर्दै आएको एमालेकाविरुद्धमा भएको गठबन्धन हैसियत बैशाख ३० गतेपछि बाहिर आउने पोखरेलको बताएका छन् ।

चुनावी सभामा नेता पोखरेलले जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख, उपप्रमुखसहित सबै पदमा एमालेका उम्मेदवारलाई बहुमतसहित विजयी गराउन आग्रह गरे । नेता पोखरेलले देशका ११ वटा उपमहानगरपालिकामध्ये अधिकांश र सबै महानगरपालिकामा एमालेको जित सुनिश्चित रहेको दाबी गरे ।

सभामा एमालेको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदकी उम्मेदवार सरस्वतीदेवी चौधरी, उपप्रमुख पदका उम्मेदवार भोलाप्रसाद अधिकारीले आफ्नो एजेण्डा र कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्रीद्धय पुरुषोत्तम पौडेल र ज्वालाकुमारी साह, केन्द्रीय सदस्य मञ्जु थापामगरलगायत एमालेका प्रदेश, जिल्ला र नगरतहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । निर्वाचन परिचालन कमिटी संयोजक मनोज पौडेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर कमिटी सचिव रत्न उप्रेतीले गरेका थिए । कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष देवनारायण चौधरीले स्वागत मन्तब्य राखेका थिए ।

चुनावी सभा अगाडी एमालेका उम्मेदवारले २४ वटै वडामा शक्ति प्रदर्शनसहित र्‍याली निकालेका छन् । मौन अवधी सुरुहुनु अघि एमालेले वडास्तरीय र नगरस्तीय कार्यक्रम गरेको हो । चुनावी सभामा कलाकार पूर्णकला बिसिले सांगितिक प्रस्तुती दिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्