जालिम मियाँका छोरा नासिर अहमद पक्राउ

वीरगन्जः पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका जेठा छोरा नासिर अहमदलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । ज्यानसम्बन्धी तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा जगरनाथपुर गाउँपालिका–५ घर भइ हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका ४६ वर्षीय नासिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पुष्टि गरेका छन् ।
प्रहरीका अनुसार नासिरमाथि आफ्नै भाइ जाफिर अहमदकी सालीको हत्या गरेको आरोप छ । घटनामा संलग्न रहेको आरोपमा यसअघि पनि उनीमाथि अनुसन्धान हुँदै आएको थियो ।
२०७८ साल असोज २१ गते जाफिरकी अविवाहित सालीको मृत्यु भएपछि प्रहरीलाई जानकारी नै नदिई उनको शव वीरगन्ज-१३ मुर्लीस्थित कब्रिस्तानमा गाड्न खोजिएको थियो । शव गाड्ने क्रममा प्रहरीले नासिर, जाफिरलगायत केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी अनुसन्धानअनुसार ती युवतीमाथि जबर्जस्ती करणी भएपछि अत्यधिक रक्तस्रावका कारण सिकिस्त भएकी थिइन् । गाउँकै एक क्लिनिकमा उपचारका क्रममा उनको मृत्यु भएपछि घटना लुकाउने उद्देश्यले शव वीरगन्ज ल्याएर गुपचुप रूपमा गाड्न खोजिएको आरोप छ ।
घटनाको अनुसन्धानका क्रममा हत्या तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा नासिरलाई करिब पाँच वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य आरोपितहरू भने फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
यस घटनाको अनुसन्धान विगतमा राजनीतिक पहुँचका कारण अघि बढ्न नसकेको आरोपसमेत लाग्दै आएको थियो । प्रहरीले भने अहिले पुनः अनुसन्धानलाई अगाडि बढाउँदै आरोपितहरूलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।







