पर्यटन विकासको सम्भावना खोज्दै मधेशको टोली बन्दीपुरमा


eShilalekh

९ जेष्ठ २०८३, शनिबार १५:४८

सिमरा: मधेश प्रदेशको पर्यटन प्रवर्द्धन तथा अन्तरप्रदेशीय सहकार्य विस्तार गर्ने उद्देश्यले नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले विशेष भ्रमण अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत पहिलो चरणमा टोलीले तनहुँको बन्दीपुर र गोरखाको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको आयोजनामा सुरु भएको अभियानमा पर्यटन व्यवसायी, सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी छन् । टोलीले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा पर्यटन व्यवस्थापनबारे जानकारी लिएको थियो ।

पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित बन्दीपुरमा होमस्टे सञ्चालन, स्थानीय संस्कृति संरक्षण र निजी क्षेत्रको भूमिकाबारे सहभागीहरूले चासो व्यक्त गरेका थिए । मधेश प्रदेशमा पनि यस्ता पर्यटकीय अवधारणा विकास गर्न सकिने विषयमा छलफल भएको जनाइएको छ ।

टोलीले त्यसपछि गोरखा दरवारको अवलोकन गरेको थियो । भ्रमणका क्रममा ऐतिहासिक तथा धार्मिक पर्यटनलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने विषयमा सरोकारवालाबीच अन्तरक्रिया भएको आयोजकले जनाएको छ ।

महासंघका अध्यक्ष हिरा गौतमले मधेश प्रदेशमा पर्यटनको प्रशस्त सम्भावना रहे पनि आवश्यक प्रचार, पूर्वाधार र अन्तरप्रदेशीय सहकार्य अभाव रहेको बताए । उनले यस्ता भ्रमणले अनुभव आदानप्रदानसँगै पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्