एकता स्कुलमा गणतन्त्र मन्थनः इतिहास, उपलब्धि र भविष्यको चर्चा


eShilalekh

१५ जेष्ठ २०८३, शुक्रबार १५:०५

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित एकता स्कुलले १९औं गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । दिवसका अवसरमा माध्यमिक तहका विद्यार्थीहरूले गणतन्त्रको विकासक्रम, उपलब्धि, भावी सम्भावनालगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

विद्यार्थीहरूले विभिन्न समूह बनाएर तयार पारेका प्रस्तुतीकरणमार्फत नेपालमा २०६२/६३ को जनआन्दोलन, संविधान निर्माण प्रक्रिया तथा लोकतान्त्रिक अभ्यासका चुनौतीबारे चर्चा गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलन, सहिदहरूको योगदान तथा नागरिकको भूमिकाबारे पनि आफ्ना विचार व्यक्त गरेका थिए ।

गणतन्त्रलाई संस्थागत गर्न युवा पुस्ता सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले जेनजी आन्दोलन, वर्तमान सरकार निर्माणलगायतका विषयमा समेत चर्चा गरेका थिए । कार्यक्रममा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो ।

विद्यालयका सञ्चालक तथा शिक्षक दिवस न्यौपानेले विद्यार्थीहरूमा गणतन्त्र दिवसको ऐतिहासिक महत्व, लोकतान्त्रिक मूल्यमान्यता तथा नागरिक जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, अभिव्यक्ति कला र समसामयिक विषयप्रतिको चासो बढाउने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्