भारतको बाल संरक्षण गृहबाट दुई नेपाली किशोरीको उद्धार


eShilalekh

१८ जेष्ठ २०८३, सोमबार १३:४८

वीरगन्जः भारतको बिहारस्थित बाल संरक्षण गृहमा राखिएका दुई नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृहले उनीहरूलाई स्वदेश फिर्ता गराई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार भारतको बिहार बृहत् आश्रय गृह, बाल गृह (बालिका) युनिट भैसाखाल, सिवानमा आश्रित महोत्तरी औरही नगरपालिका २ की १७ वर्षीया र बाराको जितपुरसिमरा उपमहानगरपालिका १८ की १६ वर्षीया किशोरीलाई नेपाल ल्याइएको हो ।

उनीहरूलाई भारतको बिहारस्थित बाल कल्याण समितिको आदेश तथा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वयमा वीरगन्ज ल्याइएको पौडेलले जानकारी दिइन् ।

दुवै किशोरी करिब एक वर्षअघि फरक-फरक समयमा साथीहरूको प्रभावमा परेर घर छाडेर भारत पुगेका थिए । महोत्तरीकी किशोरी जनकपुरमा पार्लरमा काम गर्ने क्रममा चिनजान भएकी एक युवतीको प्रलोभनमा भारतको छपरा पुगेकी थिइन् । उनलाई धार्मिक स्थलहरूको दर्शन गराउने तथा राम्रो आम्दानी हुने काम दिलाइदिने आश्वासन दिइएको थियो ।

यसैगरी बाराकी किशोरी गाउँकै साथीसँग भारतको बिहारस्थित छपरा पुगेकी थिइन् । होटलमा काम गरिरहेकै बेला बढी आम्दानी हुने भन्दै अर्की युवतीले विवाह तथा सांगीतिक कार्यक्रममा नृत्य गर्ने कामको प्रस्ताव गरेपछि उनी त्यहाँ पुगेकी थिइन् ।

दुवै किशोरी भारतमा गैरकानुनी रूपमा सञ्चालन हुने नृत्य समूह ‘अर्केस्ट्रा’ सम्बन्धी गतिविधिमा संलग्न स्थानमा पुगेपछि भारतीय प्रहरीको निगरानीमा परेका थिए । त्यसपछि उनीहरूलाई उद्धार गरी बाल संरक्षण गृहमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्