वीरगन्ज महानगरका मेयर सिंह पक्राउ


eShilalekh

१९ जेष्ठ २०८३, मंगलवार ०८:५६

सिमरा: वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् । पर्साको ठोरीबाट नगर प्रमुख सिंहलाई पक्राउ गरिएको हो ।

सरकारी लिखत किर्ते, झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा राहदानी सम्बन्धी कसुरमा मेयर सिंहलाई पक्राउ गरिएको हो । सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरिएको अभियोग छ ।

सोही अभियोगमा पर्सा जिल्ला अदालतले गत मंगलबार पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । यस प्रकरणमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराई, उनकी छोरी रुबिना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई समेत प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध लिखत सम्बन्धी कसुर, नागरिकता किर्ते तथा राहदानी किर्तेसम्बन्धी अभियोग लगाइएको सरकारी वकिल कार्यालयले जनाएको छ।

अभियोगपत्र अनुसार नगर प्रमुख सिंहले रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाउँदै २०७१ माघ २० गते रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए । सोही जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानीसमेत जारी गरिएको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।

जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार मुलुकी अपराध संहिता २०७४ अन्तर्गत किर्ते कागजसम्बन्धी दफा २७६ को उपदफा १, २ र ३ (ग) अनुसार सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई सात वर्षसम्म कैद तथा ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । यसैगरी नागरिकता ऐन २०६३ र अपराध पीडित संरक्षण ऐन २०७५ अन्तर्गत समेत सजायको मागदाबी गरिएको छ।

जिल्ला अदालतका अनुसार, नगर प्रमुख सिंहविरुद्ध चार वटा मुद्दा दर्ता भएको र लिखतसम्बन्धी कसुरमा पक्राउ जारी गरेको हो । वीरगन्जका स्थानीय लियाकत अलीको जाहेरी अनुसार लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्