नेपाल–भारत सीमा नाकामा यात्रुलाई राहत, पाँच सय रुपैयाँसम्मको सामानमा भन्सार नलाग्ने

सिमराः सरकारले स्थल मार्ग हुँदै नेपाल–भारत सीमा नाकाबाट आवतजावत गर्ने यात्रुहरूका लागि भन्सार छुटको सीमा बढाएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसअघि लागू गरिएको एक सय रुपैयाँको सीमालाई बढाएर पाँच सय रुपैयाँ पुर्याएको हो ।
नयाँ व्यवस्थाअनुसार अब यात्रुहरूले आफ्नो निजी प्रयोगका लागि पाँच सय रुपैयाँसम्म मूल्यका सामानहरू भन्सार महसुल नतिरी ल्याउन वा लैजान पाउने भएका छन् । सीमा नाकामा कार्यरत भन्सार प्रमुखले यात्रुले साथमा ल्याएका सामग्रीको प्रकृति र औचित्य मूल्याङ्कन गरी भन्सार महसुलबिना प्रवेश अनुमति दिन सक्ने व्यवस्था गरिएको छ ।
यद्यपि हवाई मार्गबाट नेपाल आउने यात्रुले पाउने भन्सार छुटको सुविधा र स्थल मार्गका यात्रुलाई दिइने सुविधाबीचको भिन्नता भने यथावत् राखिएको छ ।
गत वर्ष लागू गरिएको कडा भन्सार नियमका कारण सीमा क्षेत्रमा यात्रु र सुरक्षाकर्मीबीच बारम्बार विवाद तथा असन्तुष्टि उत्पन्न भइरहेको थियो । यस विषयमा संसद्मा समेत आवाज उठेपछि सरकारले पुरानो नियमको पुनरावलोकन गर्दै यो नयाँ निर्णय गरेको हो ।
यसैबीच भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि भने विद्यमान सुविधालाई यथावत् राखिएको छ । जसअनुसार अध्ययन पूरा गरेर वा अध्ययनकै क्रममा नेपाल फर्किने विद्यार्थीले आफ्नो प्रयोगका लागि ल्याएको एउटा कम्प्युटर वा ट्याबलेटमा भन्सार महसुल तिर्नुपर्ने छैन । यो नयाँ व्यवस्थाले सीमा क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।







