बालक अपहरण मुद्दाका फरार प्रतिवादी रौतहटबाट पक्राउ


eShilalekh

२० जेष्ठ २०८३, बुधबार १३:५०

महोत्तरीः जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालक अपहरण सम्बन्धी कसूर मुद्दाका एक फरार प्रतिवादीलाई रौतहटबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ७ का २३ वर्षीय नवराज अधिकारी रहेका छन् ।

प्रहरीका अनुसार गत वैशाख ७ गते दिउँसो करिब २ बजे महोत्तरी जिल्लाबाट तीन जना अज्ञात व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ वर्षीय बालकलाई राखेर अपहरण गरी लैजाँदै गरेका थिए ।

अपहरणका क्रममा बालकले चिच्याउँदै गुहार मागेपछि स्थानीय बासिन्दाले घटना देखेर मोटरसाइकल रोक्ने प्रयास गरेका थिए । स्थानीयको सक्रियतापछि अपहरणकारीहरूले बालकलाई घटनास्थलमै छाडेर फरार भएका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले वारदातमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल बरामद गरेको थियो । अनुसन्धानकै क्रममा संलग्न प्रतिवादीमध्येका नवराज अधिकारीलाई गत जेठ १५ गते दिउँसो करिब ३ः३० बजे महोत्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा उनलाई गौर नगरपालिका ५ स्थित हस्पिटल चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पन्च लाल गोलेका अनुसार पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ । घटनासम्बन्धी अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्