अजित सिंह हत्या प्रकरणः एक भारतीय युवक पक्राउ

सिमराः अढाई बर्ष अघि बाराको पचरौतामा भएको भारतीय युवक हत्या प्रकरणमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी थाना दरपा ग्राम पञ्चायत तीनकोनीका ३० वर्षीय रञ्जित मुखिया रहेका छन् ।
मुखियालाई पचरौता नगरपालिका ६ पकडियास्थित लक्ष्मिनिया पोखरी नजिकबाट पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले मुखियालाई पक्राउ गरेको हो ।
२०८० असोज ९ गते भारत मोतिहारी थाना दरपा ग्राम पन्चायत तीनकोनी १ सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाई गोली प्रहार हत्या गरिएको घटनामा मुखियाले व्यवस्थापनको भूमिका खेलेको प्रहरीको भनाई छ । उक्त घटनालगत्तै फरार भएका मुखियालाई प्रहरीले खोजी गरिरहेको थियो ।
प्रहरीले उक्त घटनामा संलग्न मुख्य योजनाकार सुजितकुमार सिंह, अजितकी पत्नी सोनम सहनी सिंह, भारत मोतिहारीका रुपेशकुमार महतोलाई यसअघि नै पक्राउ गरिसकेको छ ।
सुजित र सोनमको योजनामा अजितको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको थियो । सिम्रौनगढमा डेरा गरी बस्दै आएकी श्रीमती सोनमलाई भेटन अजित मोतिहारीबाट सुजितलाई लिएर मोटरसाइकलमा नेपाल आउँदै थिए । सोही समयमा पचरौता ६ लक्ष्मिनिया आएपछि सुजितले अजितलाई गोली हानेर हत्या गरेको र भारतर्फ फरार भएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
प्रहरीका अनुसार सुजित र सोनमबीच प्रेम सम्बन्ध रहेको र उनीहरुले अजितको हत्या गर्ने योजना बनाएका थिए । प्रहरीले सोनमलाई घटनाको केही दिनमै पक्राउ गरेको थियो भने सुजितलाई २०८० पुष १० गते, रुपेशलाई २०८० माघ ८ गते पक्राउ गरेको थियो । उक्त घटनामा संलग्न अन्य तीन जना अझै फरार रहेका छन् ।







