पचरौताको बेल्दारीमा सर्पदंशबाट १९ महिने बालकको मृत्यु


eShilalekh

२१ जेष्ठ २०८३, बिहीबार १७:०१

सिमरा: बाराको पचरौता नगरपालिका ४ बेल्दारीमा सर्पदंशबाट १९ महिने बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय संजय रामका छोरा धनजय राम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार आमासँगै खेतमा गएका बालकलाई सर्पले डँसेको हो । आमा सोनापती देवी स्थानीय रवीन्द्र यादवको खेतमा ज्यालादारी काम गर्न गएकी थिइन् । सोनापती खेतमा काम गरिरहेका बेला खेलिरहेका धनजयलाई सर्पले डँसेको थियो ।

सर्पदंशपछि बालकलाई तत्कालैउपचारका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। बालकको शव परिवारले बुझिसकेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी प्रवक्ता घलेले गर्मी याममा सर्पदंशका घटना बढ्ने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले बालबालिकालाई एक्लै नछोड्न, खेतबारी तथा झाडी भएको क्षेत्रमा काम गर्दा सावधानी अपनाउन, झुल लगाएर सुत्न तथा घरवरपरको वातावरण सफा राख्न सुझाव दिएका छन् ।

सर्पदंश भएको अवस्थामा झारफुकको भर नपरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन उनले आग्रह गरेका छन् । सर्पदंशबाट हुने जोखिम न्यूनीकरणका लागि अभिभावक तथा सर्वसाधारणको सचेतना आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्