सवारी ठक्करबाट वृद्धको मृत्यु, दोषी समात्न माग गर्दै जनकपुर–ढल्केबर सडक अवरुद्ध


eShilalekh

२२ जेष्ठ २०८३, शुक्रबार १२:१९

जनकपुरधामः धनुषाको जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियामा स्थानीय बासिन्दाहरूले आज बिहानैदेखि सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन् ।

गत जेठ २० गते सवारी दुर्घटनामा परी ज्यान गुमाएकी ६५ वर्षीया मरनी देवी महराको हत्यारालाई पत्ता लगाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै स्थानीयले बिहान ७ बजेदेखि साढे ८ बजेसम्म टायर बालेर यातायात ठप्प पारेका हुन् ।

घटना विवरण अनुसार लक्ष्मीनिया गाउँपालिका ७ कि मरनी देवी आफ्नो घरबाट खेततर्फ जान सडक पार गर्ने क्रममा दुई जना सवार एक मोटरसाइकलले उनलाई ठक्कर दिएर फरार भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी महराको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको मृतकका छोरा मुकेश महराले बताए । घटना भएको यतिका दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पहिचान गर्न नसकेको भन्दै पीडित परिवार र स्थानीय आक्रोशित बनेका छन् ।

मधेश सरकार र लक्ष्मीनिया गाउँपालिकाले सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा करोडौँ खर्चेर सिसीटिभी क्यामरा जडान गरे पनि ती सबै बिग्रेका कारण दोषी पत्ता लगाउन नसकिएको स्थानीयको गम्भीर गुनासो छ ।

जडान गरिएका प्रविधिहरू समयमा काम नलाग्दा अपराधी उम्किने अवस्था सिर्जना भएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन् ।

दोषीलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित पक्षलाई न्याय दिलाउन माग गर्दै गरिएको उक्त चक्काजामका कारण केही समय जनकपुर–ढल्केबर सडकखण्डमा सवारी साधनहरूको आवतजावत पूर्ण रूपमा प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्