परीक्षामा जफत भएका करोडौँ मूल्य बराबरका मोबाइल र स्मार्टवाच नष्ट


eShilalekh

२२ जेष्ठ २०८३, शुक्रबार १४:१४

सिरहाः जिल्ला परीक्षा समन्वय समिति सिरहाले गत चैतमा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल फोन र स्मार्टवाच नष्ट गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूको रोहबरमा सात वटा आईफोन, चार सय ९६ वटा एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच पानीमा डुबाएर तथा फुटाएर नष्ट गरिएको हो ।

ती उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ । तत्कालीन मधेस प्रदेश शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने घोषणा गरेपछि सोही निर्देशन तथा परीक्षा सञ्चालन निर्देशिकाअनुसार जिल्ला परीक्षा समन्वय समितिले उक्त निर्णय गरेको जनाएको छ ।

उपकरण व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो । उपसमितिका अनुसार अधिकांश मोबाइल २४ घण्टासम्म पानी भरिएको ड्रममा डुबाएर नष्ट गरिएको थियो भने वाटरप्रुफ सेटहरू फुटाएर पानीमा हालिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशकुमार पालले यो निर्णय प्रहरीको नभई समन्वय समितिको भएको स्पष्ट पार्दै परीक्षाको मर्यादा विपरीत कार्य गर्नेहरूलाई पहिले नै चेतावनी दिइएको बताए ।

यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जफत गरिएका मोबाइल लिलाम गर्दा सुरक्षा तथा कानुनी जटिलता उत्पन्न हुन सक्ने भएकाले नष्ट गर्ने निर्णय गरिएको बताए ।

मोबाइल नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्