छात्रवृत्ति आवेदनका लागि जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा पुनः सूचना जारी


eShilalekh

२२ जेष्ठ २०८३, शुक्रबार १८:१७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले नगरस्तरीय छात्रवृत्ति छनोट परीक्षा सम्बन्धी आवेदन फाराम भर्न इच्छुक विद्यार्थीलाई पुनः सूचना जारी गरेको छ । शैक्षिक सत्र २०८३ मा उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई नियमानुसार छात्रवृत्ति उपलब्ध गराउन पुनः आवेदन प्रक्रिया खुला गरिएको हो।

यसअघि प्रकाशित सूचनाबारे अधिकांश विद्यार्थी तथा अभिभावकलाई जानकारी नपुगेको भन्दै उपमहानगरपालिकाले इच्छुक विद्यार्थीहरूलाई आवश्यक कागजातसहित सम्बन्धित विद्यालयमा गई मिति २०८३ असार ५ गतेसम्म छात्रवृत्ति छनोट परीक्षा फाराम भर्न आग्रह गरेको छ।

उपमहानगरपालिकाका अनुसार आवेदन फाराम सम्बन्धित विद्यालयबाट प्राप्त गर्न सकिनेछ भने जीतपुरसिमरा उपमहानगरपालिका को वेबसाइटबाट समेत डाउनलोड गरी प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी एसईई परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा छात्रवृत्ति अन्तर्गत अध्ययन गर्न चाहने विद्यार्थीहरूले पनि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। विद्यार्थीहरूले छात्रवृत्ति आवेदन पोर्टल मार्फत सोझै फाराम भरी नगरस्तरीय छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुन सक्ने उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्