बारालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी, कलैयामा जिल्लास्तरीय अभिमुखीकरण

कलैया: बारालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीस्वरुप शुक्रबार कलैयामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन, सम्बन्धित सरोकारवालाको सहभागिता गराई कार्यक्रम आयोजना गरेको हो ।
कलैया उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधवप्रसाद पोखरेलले नेपालमा हालसम्म ६८ वटा जिल्ला मात्र साक्षर घोषणा भएको जानकारी दिए । निर्देशक पोखरेलले कुनै पनि क्षेत्र वा जिल्लालाई साक्षर घोषणा गर्नका लागि तोकिएका १२ वटा विभिन्न सूचकहरूका बारेमा सहभागीहरूलाई स्पष्ट पारेका थिए ।
अभिमुखीकरणका क्रममा साक्षर जिल्ला घोषणा गर्न आवश्यक पर्ने मापदण्ड, प्रक्रिया, तथ्याङ्क संकलन, अनुगमन तथा मूल्याङ्कनका प्राविधिक विषयहरूमा विस्तृत जानकारी गराइएको थियो ।
कार्यक्रमका वक्ताहरूले साक्षरता अभियानलाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताए । जिल्लाभित्र रहेका निरक्षर नागरिकहरूको वास्तविक पहिचान गरी साक्षरता कार्यक्रमलाई एउटा वृहत् अभियानकै रूपमा अगाडि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
छलफलका क्रममा सहभागीहरूले साक्षर जिल्ला घोषणा गर्ने तयारी, त्यसका चुनौती र सम्भावित समाधानका उपायहरूका बारेमा आफ्ना धारणा र अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रमले बारा जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य हासिल गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘साक्षर नेपाल अभियान’ लाई सफल बनाउन स्थानीय तहसँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाएर लैजाने प्रतिबद्धता जनाएको छ।
शिक्षा विकास समन्वय इकाई बाराका प्रमुख अशोककुमार रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका बैकुण्ठ आचार्य, विभिन्न पालिकाका शिक्षा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।







