भारतीय युवक हत्या प्रकरणमा पक्राउ परेका मुखिया पुर्पक्षका लागि कारागार चलान

कलैया: अढाई वर्षअघि बाराको पचरौतामा भएको भारतीय युवक अजितकुमार सिंहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारतीय नागरिक रञ्जित मुखियालाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । बारा जिल्ला अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न कारागार पठाउने आदेश दिएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार मुखियालाई अदालतमा पेश गरेको थियो । भारत मोतिहारी थाना दरपा ग्राम पञ्चायत तीनकोनीका ३० वर्षीय मुखियालाई जेठ २० गते प्रहरीले पक्राउ परेका थिए । उनलाई पचरौता नगरपालिका ६ पकडियास्थित लक्ष्मिनिया पोखरी नजिकबाट ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार २०८० असोज ९ गते भएको उक्त हत्या प्रकरणमा मुखियाले व्यवस्थापनको भूमिका खेलेका थिए । अनुसन्धानका क्रममा यो हत्याकाण्ड प्रेम सम्बन्धको उपज भएको खुलेको थियो । मृतक २२ वर्षीय अजितकुमार सिंहकी पत्नी सोनम सहनी सिंह र सुजितकुमार सिंहबीच प्रेम सम्बन्ध रहेको र उनीहरूले नै अजितको हत्या गर्ने योजना बुनेको प्रहरीको भनाई छ ।
घटनाको दिन सिम्रौनगढमा डेरा गरी बस्दै आएकी श्रीमती सोनमलाई भेट्न अजित मोतिहारीबाट सुजितकै मोटरसाइकलमा चढेर नेपाल आउँदै थिए । सोही क्रममा पचरौता ६ लक्ष्मिनिया पुगेपछि सुजितले अजितमाथि गोली प्रहार गरी हत्या गरेर फरार भएका थिए ।
यस हत्या प्रकरणमा प्रहरीले हालसम्म मुख्य योजनाकारसहित चार जनालाई कानुनी दायरामा ल्याइसकेको छ भने अन्यको खोजी कार्य जारी राखेको छ । प्रहरीले सोनमलाई घटनाको केही दिनमै पक्राउ गरेको थियो भने सुजितलाई २०८० पुष १० गते, रुपेशलाई २०८० माघ ८ गते पक्राउ गरेको थियो । उक्त घटनामा संलग्न अन्य तीन जना अझै फरार रहेका छन् ।








