वीरगन्जमा अवैध सालको काठसहित पाँच साइकल बरामद


eShilalekh

२४ जेष्ठ २०८३, आईतवार १४:२१

वीरगन्जः वीरगन्ज महानगरपालिका ३१ स्थित मिलन चोकको उत्तरतर्फ रहेको फुटबल ग्राउन्ड क्षेत्रबाट अवैध रूपमा कटान गरिएको सालको काठसहित पाँच वटा साइकल बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको मोबाइल टोली र सब–डिभिजन वन कार्यालय सबैयाको संयुक्त टोलीले जङ्गलबाट अवैध रुपमा कटान गरी साइकलमा लोड गरेर ल्याइँदै गरेको करिब ४५ क्युबिक फिट सालको गोलिया काठ नियन्त्रणमा लिएको हो ।

सुरक्षा निकायका अनुसार टोली घटनास्थलमा पुग्नेबित्तिकै काठ ओसारपसारमा संलग्न व्यक्तिहरू काठ र साइकल छाडेर फरार भएका थिए ।

बरामद काठ तथा पाँच थान साइकल आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्