बयलगाडाले किचेर सर्लाहीमा एक बालकको मृत्यु


eShilalekh

२४ जेष्ठ २०८३, आईतवार १८:२६

सर्लाहीः सर्लाहीको बरहथवा नगरपालिका १६ बैरहरियामा बयलगाडाले किच्दा ९ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कृष्ण कुम्हालका छोरा सुभास कुम्हाल रहेका छन् ।

बयलगाडा चालक खैरु पण्डित कुम्हालले घरबाट खेततर्फ चलाएर लैजाँदै गरेको बयलगाडामा सवार सुभास अचानक लडेका थिए । सोही गाडाले किच्दा उनी गम्भीर घाइते भएका थिए ।

दुर्घटनालगत्तै घाइते बालकलाई नगर अस्पताल बरहथवामा प्राथमिक उपचार गरिएको थियो । त्यहाँ थप उपचार सम्भव नभएपछि उनलाई वीरगन्जस्थित न्युरो अस्पताल पर्सा लगिएको थियो ।

उपचारकै क्रममा शनिबार राति करिब १० बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

दुर्घटनापछि बयलगाडा चलाउने खैरु पण्डित फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्