रास्वपाको मधेस प्रदेश अधिवेशन स्थगित, सबै गतिविधि रोकियो


eShilalekh

२६ जेष्ठ २०८३, मंगलवार १४:२४

सिमरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन स्थगित गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै जेठ २८ गतेका लागि तय गरिएको प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनामा पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४९ बमोजिम आयोगलाई प्राप्त अधिकार प्रयोग गरी उक्त निर्णय गरिएको उल्लेख गरिएको छ ।

आयोगका अनुसार मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत रूपमा संचालन सुनिश्चित गर्न आवश्यक देखिएकाले अधिवेशन स्थगित गरिएको हो । स्थगनसँगै प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि रोकिएका छन् ।

यसअघि आयोगले मंगलबारका लागि तय गरिएको बारा जिल्ला अधिवेशनसमेत स्थगित गरेको थियो । प्रमुख केसीले अधिवेशनको नयाँ मिति, समय तथा संशोधित कार्यतालिकाबारे आयोगले पछि आधिकारिक रूपमा जानकारी गराउने बताएका छन् । साथै अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

मधेस प्रदेशमा रास्वपाको पालिका तथा जिल्ला अधिवेशन प्रक्रिया सुरुदेखि नै विवादित बन्दै आएको छ । अधिवेशनलाई लिएर पर्सा र सिरहामा कार्यकर्ताबीच झडपसमेत भएको थियो । पर्सामा सोमबार राति निर्वाचनबाट नयाँ नेतृत्व चयन भए पनि सिरहाको अधिवेशन प्रक्रिया अझै अन्योलमा छ। मधेसका अन्य जिल्लाहरूमा समेत जिल्ला अधिवेशन हुन बाँकी रहेकाले प्रदेश अधिवेशन स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्