रवि लामिछानेको मुद्दाबाट संगठित अपराधको अभियोग हटाउन पर्सा जिल्ला अदालतको अनुमति

वीरगन्ज: पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर मुद्दामा लगाइएको संगठित अपराधको अभियोग हटाउने अनुमति दिएको छ। अदालतको आदेशसँगै अब उनीहरूविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोग मात्र कायम रहने भएको छ।
जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय पर्साले महान्यायाधिवक्ताको स्वीकृतिपछि अभियोग संशोधनको निवेदन दायर गरेको थियो ।
मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ता तथा प्रतिवादी पक्षबाट अधिवक्ताद्वय दीपेन्द्र झा र चन्द्रिकाप्रसाद पटेलले बहस गरेका थिए । विशाल सहनी गोढीलगायतको जाहेरीका आधारमा दायर सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अदालतले सहकारी ठगीको अभियोग यथावत् राख्दै संगठित अपराधसम्बन्धी आरोप सबै प्रतिवादीका हकमा हटाउने निर्णय गरेको हो ।
यसअघि ०८२ पुस ३० गतेको निर्णय तथा माघ २ गते गरिएको त्रुटि संशोधनअनुसार अभियोग संशोधन प्रक्रिया अघि बढाइएको थियो। यो मुद्दा वीरगन्जको आदर्शनगरस्थित सानो पाइला सहकारीको रकम अपचलनसँग सम्बन्धित छ।
यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो । अब यस मुद्दामा प्रतिवादीहरूमाथि सहकारी ठगीसम्बन्धी अभियोगमा मात्र न्यायिक प्रक्रिया अघि बढ्नेछ ।










