रौतहटमा ९० लाखभन्दा बढीको अवैध फर्सीको बिउ बरामद, तस्करी रोक्न खोज्दा झडप


eShilalekh

२८ जेष्ठ २०८३, बिहीबार १५:४८

रौतहटः रौतहट प्रहरीले नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लागेको ९० लाख रुपैयाँभन्दा बढी मूल्यको चाईनिज फर्सीको बिउ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ करिब ७ बजे बौधीमाई नगरपालिका ७ बाडका बंकुल टोल क्षेत्रमा विशेष अपरेसन चलाएको थियो ।

सीमावर्ती बाटो नजिकै त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले तीन सय २२ बोरा (जम्मा १२ हजार ८८० किलोग्राम) फर्सीको बिउ फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले जानकारी दिएका छन् ।

बरामद गरिएको उक्त बिउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

फर्सीको बीउ नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीले स्थानीय तस्कर समूहको कडा प्रतिरोधको सामना गर्नुपरेको थियो । अवैध सामग्री बरामद गर्न नदिन केही स्थानीय व्यक्तिहरूले प्रहरीमाथि एक्कासि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

झडपका क्रममा ढुंगामुढाबाट तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी गरी कुल ६ जना सामान्य घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले ६ राउण्ड अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको छ भने बुधबारको घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्