जीतपुरसिमरा उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषणा


eShilalekh

३१ जेष्ठ २०८३, आईतवार १२:०८

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिकालाई एक औपचारिक कार्यक्रमका बीच ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषणा गरिएको छ ।

उपमहानगरपालिकाको वडा नं. ५ बकुलियामा आयोजित कार्यक्रममा नगर प्रमुख राजन पौडेलले जीतपुरसिमराले बाल स्वास्थ्य सुरक्षाको क्षेत्रमा यो महत्वपूर्ण उपलब्धि हासिल गरेको आधिकारिक घोषणा गरेका छन् ।

राष्ट्रिय खोप कार्यक्रमको मापदण्डअनुसार जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिकाले तोकिएको उमेरभित्र अनिवार्य रूपमा पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएपछि मात्र घोषणा गर्ने व्यवस्था छ । सम्पुर्ण मापदण्ड पूरा गरेपछि जीतपुरसिमरा यो सूचीमा समावेश भएको हो । यो ऐतिहासिक सफलता हासिल गर्न उपमहानगरपालिकाका २४ वटै वडामा सघन घरधुरी सर्वेक्षण र ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो ।

स्वास्थ्य शाखाका अनुसार प्रत्येक वर्षको माघ र फागुन महिनामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू घर–घर पुगेर बालबालिकाको खोप अवस्थाको विवरण संकलन गर्ने र खोप लगाउन छुटेका बालबालिका पहिचान गरी खोप दिलाउने कार्य सञ्चालन भइरहेको छ । सर्वेक्षण, अभिलेख प्रमाणीकरण र छुट बालबालिकालाई पुनः खोप सेवाको व्यवस्थापन गरेकै कारण पालिकाले ‘पूर्ण खोप सुनिश्चितता’ को आधार तयार पारेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भास्करले बताए ।

दादुरा, रुबेला, पोलियो, क्षयरोग र निमोनिया जस्ता संक्रामक रोगहरूबाट बालबालिकालाई जोगाउन खोप नै सबैभन्दा प्रभावकारी र कम लागतको उपाय भएको भन्दै सरोकारवालाहरूले जीतपुरसिमराको यो उपलब्धिलाई बालबालिकाको स्वस्थ भविष्यप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीकका रूपमा लिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रतिनिधि भागिरथ चौधरी, स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रममा, प्राप्त भएको यो ‘पूर्ण खोप सुनिश्चितता’ को गरिमालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै शतप्रतिशत खोपको पहुँच कायम राख्ने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्