जीतपुरमा स्कुटर दुर्घटना हुँदा दुई किशोरी घाइते, एकको अवस्था गम्भीर

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा आइतबार स्कुटर दुर्घटना हुँदा दुई किशोरी घाइते भएका छन् । सिमरातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर अनियन्त्रित भई भागिरथ लाइन होटल अगाडि दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक जीतपुरसिमरा उपमहानगरपालिका १७ रामनगरकी १६ वर्षीया सुप्रिया मोक्तान गम्भीर घाइते भएकी छन् । उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ ।
यसैगरी स्कुटरको पछाडि सवार सोही स्थानकी १६ वर्षीया सुप्रिया रुम्बा पनि घाइते भएकी छन् । उनको अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको एलएस न्युरो अस्पताल, परवानीपुर बारामा उपचार भइरहेको छ।







