मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख

जनकपुरधाम: मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको बताए ।
कुल बजेटमा चालु खर्चको हिस्सा ३५.६४ प्रतिशत र पुँजीगत खर्चको हिस्सा ६४.३५ प्रतिशत रहेको छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई प्राथमिकतामा राखिएको अर्थमन्त्री भट्टराईले बताए ।
बजेटको स्रोत व्यवस्थापनअन्तर्गत आन्तरिक स्रोत तथा राजश्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाइने प्रस्ताव गरिएको छ । संघीय सरकारबाट राजश्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ, चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ तथा आन्तरिक ऋणबाट १ अर्ब ५० करोड रुपैयाँ जुटाइने बजेटमा उल्लेख छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदान ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदान ९४ करोड ७४ लाख र विशेष समपूरक अनुदान ७० करोड रुपैयाँ रहने अनुमान गरिएको छ । यी सबै शीर्षकबाट मधेश प्रदेशले कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।







