यस्तो छ जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम, असार ७ गते मतदान


eShilalekh

१ असार २०८३, सोमबार १९:५७

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ । निर्वाचन समितिले अधिवेशनको बन्दसत्रपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार असार २ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने सोही दिन साँझ ५ बजे दाबीविरोधपश्चात मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारी दर्ता असार ३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । उम्मेदवारमाथि दाबीविरोध सोही दिन दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिनेछ ।

उम्मेदवारी फिर्ता असार ४ गते बिहान १० बजेदेखि १२ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । अन्तिम उम्मेदवारको नामावली असार ४ गते दिउँसो १ बजे प्रकाशन गरिनेछ भने नमूना मतपत्र सोही दिन साँझ ५ बजे सार्वजनिक गरिनेछ ।

निर्वाचन प्रचारप्रसार असार ४ गते साँझ ५ बजेदेखि सुरु भई असार ६ गते दिउँसो १ बजेसम्म मात्र गर्न पाइनेछ । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको निर्वाचन अधिकृत शरदचन्द्र भट्टराई जानकारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार संघको नयाँ नेतृत्व चयनका लागि असार ७ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएपछि मतगणना गरी परिणाम सार्वजनिक गरिनेछ ।

नयाँ नेतृत्व चयनका लागि ९ सय ५८ मतदाता निर्वाचनमा सहभागी हुनेछन् । तेस्रो अधिवेशनका लागि सदस्य, एशोसियट र उद्योग गरी ९ सय ५८ जनाले नविकरण गराएको संघले जनाएको छ । निर्वाचनबाट १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्