बारा र पर्सामा ११४ किलो गाँजासहित तीन जना पक्राउ


eShilalekh

२ असार २०८३, मंगलवार २०:१८

सिमराः बारा र पर्साको छुट्टाछुट्टै स्थानमा प्रहरीले करिब एक सय १४ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले अमलेखगञ्जबाट चार किलो ६०० ग्राम गाँजासहित एक जना र ड्राईपोर्ट-परवानिपुर सडकखण्डबाट एक सय ९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

बारामा पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका २२ चकरीका ३० वर्षीय नाईस बाबु तामाङ रहेका छन् । चकरीबाट अमलेखगञ्जतर्फ आउँदै गरेको ना२ह ११६० नम्बरको अटोमा यात्रा गरिरहेका तामाङले बोकेको झोलाबाट चार किलो ६ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका ३१ स्थित ड्राईपोर्ट-परवानिपुर सडकखण्डमा प्रहरीले बा१९च ५७३८ नम्बरको बोलेरो पिकअप गाडीबाट त्रिपालले छोपेर राखिएको एक सय ९ केजी गाँजा बरामद गरेको हो । प्रहरीले गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ का ३० वर्षीय सुभाष थामी र २८ वर्षीय छत्रबहादुर थामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्