जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा दुई पूर्वउपाध्यक्षबीच चुनावी भिडन्त हुने

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा निवर्तमान कार्यसमितिका दुई उपाध्यक्षबीच चुनावी भिडन्त हुने भएको छ । संघको निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गुप्ता र वाणिज्य उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको हो ।
संघको जीतपुरस्थित कार्यालयमा रहेको निर्वाचन समितिमा बुधबार दुवैले छुट्टाछुट्टै प्यानल खडा गरेर उम्मेदवारी दिएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका मनोज पुराना र अनुभवी व्यवसायी हुन् भने गजेन्द्र युवा र उर्जाशील व्यवसायी हुन् ।
निवर्तमान वरिष्ठ उपाध्यक्ष गुप्ता (मनोज) ले संघमा रहेर धेरै काम गर्न बाँकी रहेको र त्यसका लागि व्यवसायीहरुले नै आग्रह गरेपछि उम्मेदवारी दिएको बताए । लामो समयदेखि संघमा आवद्ध रहेर काम गर्दा धेरै अनुभव बटुलेको बताउँदै गुप्ताले ती अनुभवका आधारमा आफूले काम गर्न सक्ने आत्मविश्वास रहेको बताएका छन् ।
यता युवा व्यवसायी निवर्तमान वाणिज्य उपाध्यक्ष गुप्ता (गजेन्द्र) ले अघिल्लो कार्यसमितिमा रहेर गरेका काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । संघको निवर्तमान कार्यसमितिमा रहेर थुप्रै काम गरेको बताउँदै उनले अपूरो काम पूरा गर्न र व्यवसायीको हितमा काम गर्नका लागि नेतृत्वमा आउन चाहेको बताए ।
संघको नेतृत्व चयनका लागि असार ७ गते निर्वाचन हुँदैछ ।







