पर्सामा तीन सय ७० किलो लागूऔषध गाँजा बरामद, अनुसन्धान जारी

वीरगञ्जः पर्सा प्रहरीले छिपहरमाई गाउँपालिका २ मिर्जापुरस्थित नहरको झाडीमा लुकाएर राखिएको ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
बुधबार राति ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नहरको झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २५ वटा पोकामा रहेको तीन सय ७० किलो लागूऔषध गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । उक्त गाँजा कसले र कुन उद्देश्यले नहरको झाडीमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







