रौतहटमा तीन घरमा सुरुङ्ग खनेर लाखौंका गरगहना र नगद चोरी


eShilalekh

४ असार २०८३, बिहीबार १३:३१

रौतहटः रौतहटको पश्चिमी क्षेत्रस्थित फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीनवटा घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ बराबरको नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन् ।

फतुवा विजयपुर नगरपालिका ६ मोतिपुर टोलका रामप्रसाद यादव, तेजनारायण यादव र स्वर्गीय गजेन्द्र सहनीको घरमा चोरहरूले पालैपालो सुरुङ्गमार्फत प्रवेश गरी चोरी गरेको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यहरू गहिरो निद्रामा रहेका बेला भएको घटनामा रामप्रसाद यादवको घरबाट नगद दुई लाख ८० हजार रुपैयाँ तथा करिब दुई लाख ४० हजार रुपैयाँ बराबरको सुनको मंगलसूत्र र हनुमानी चोरी भएको पीडित परिवारले जनाएको छ ।

यसैगरी तेजनारायण यादवको घरबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका बालबालिकाले लगाउने तीन थान चाँदीका बाला चोरी भएको छ । चोरहरू सहनीको घरभित्र समेत प्रवेश गरे पनि त्यहाँबाट कुनै सामान लैजान नसकेको स्थानीयले बताएका छन् ।

घटनापछि बिहीबार बिहान इलाका प्रहरी कार्यालय विजयपुरको टोली घटनास्थल पुगेको थियो । वडा नं. ६ का अध्यक्ष राम एकवाल यादवका अनुसार ट्रंक र बाकसाका तालामा तोडफोडको स्पष्ट चिन्ह नदेखिएकाले चोरहरूले नक्कली चाबी प्रयोग गरेको हुनसक्ने आशंका गरिएको छ ।

यसैबीच घटनालाई थप रहस्यमय बनाउने अर्को पक्ष बुधबार दिउँसोदेखि गाउँ नजिकै पाल टाँगेर बसेको १०–१२ जनाको घुमन्ते नेटुवा समूह रहेको स्थानीयको भनाइ छ । उनीहरूका केही सदस्यले गाउँका घरघरमा पुगेर आफूहरू झाँक्री तथा तान्त्रिक भएको भन्दै सम्पर्क गर्न आग्रह गरेको र त्यसै रात चोरी भएपछि स्थानीयस्तरमा शंका उत्पन्न भएको छ ।

यद्यपि प्रहरीले हालसम्म कसैको संलग्नता पुष्टि नभएको जनाएको छ । शंकास्पद गतिविधिका आधारमा सोधपुछका लागि नेटुवा समूहका तीन जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्