जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष, सचिव र पाँच सदस्य निर्विरोध निर्वाचत

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष, सचिव र पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको मनोनयनमा उक्त पदमा तोकिए भन्दा संख्यामा बढी उम्मेदवारी नपरेपछि निर्वाचन समितिले दुई पदाधिकारी र पाँच सदस्यलाई निर्विरोध निर्वाचित गरेको हो ।
निर्विरोध निर्वाचित हुनेमा उद्योग उपाध्यक्ष विजयकुमार साह र सचिव मुकेशप्रसाद साह रहेका छन् । यसैगरी सदस्यहरुमा उद्योगतर्फ ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेशकुमार प्रसाद साह, एशोसियटतर्फ हिमांशु गोल्छा तथा वस्तुगततर्फ सूर्यप्रसाद त्रिपाठी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सरदचन्द्र भट्टराईले जानकारी दिएका छन् ।
यसैगरी निर्वाचन समितिले बिहीबार उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशन गरेसँगै असार ७ गते निर्वाचन हुने निश्चित भएको छ ।
अन्तिम नामावली अनुसार अध्यक्ष पदमा मनोजकुमार गुप्ता र गजेन्द्रकुमार गुप्ताबीच प्रतिस्पर्धा हुनेछ । मनोज यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने गजेन्द्र वाणिज्य उपाध्यक्ष थिए ।
यसैगरी उपाध्यक्ष वाणिज्यतर्फ प्रमोद साह तेली र रामबाबु कलवारबीच चुनावी भिडन्त हुनेछ । कलवार निवर्तमान कार्यसमितिमा कोषाध्यक्ष थिए । महासचिवमा प्रकाश गिरी र सुशील शर्माबीच प्रतिस्पर्धा हुनेछ । गिरी अघिल्लो कार्यसमितिमा पनि महासचिव थिए ।
कोषाध्यक्षमा रिना रौनियार पुरी र विन्देश्वरी प्रसाद साह कलवार भिड्नेछन् । पुरी अघिल्लो कार्यसमितिमा उद्योग सदस्य थिईन् भने कलवार वाणिज्य सदस्य थिए । सचिव वाणिज्यतर्फको एक पदका लागि शान्ताकुमारी बजगाईं (रिना), रिता कंडेल र प्रदीप कुमारबीच प्रतिस्पर्धा हुनेछ ।
वाणिज्यतर्फको सात सदस्यका लागि ९ जनाबीच चुनाव हुनेछ । उक्त पदमा अमरेन्द्रकुमार साह कलवार, नवरतन प्रसाद कलवार, बलराम पौडेल, विभा गुप्ता, विजयकुमार गुप्ता, मनोहर बाबु गुप्ता, मुकुन्दराज रिजाल, रुपनारायण प्रसाद गुप्ता र श्रीराम साह कानुबीच प्रतिस्पर्धा हुने भएको हो ।







