व्यवसायीको संरक्षण र क्षमता अभिवृद्धिका लागि काम गर्नेछुः गजेन्द्रकुमार गुप्ता


eShilalekh

५ असार २०८३, शुक्रबार १६:१५

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आगामी असार ७ गते हुँदैछ । देशकै प्रमुख औद्योगिक करिडोर, वीरगन्ज–रक्सौल नाकाको सामीप्य, थुप्रै साना–ठूला उद्योगहरूको उपस्थिति र विमानस्थलका कारण निकै महत्वपूर्ण मानिएको यस नगर उद्योग वाणिज्य संघको नेतृत्व लिन व्यवसायीहरू चुनावी मैदानमा उत्रिएका छन् । यसै क्रममा संघलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट दृष्टिकोण र ऊर्जासहित अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका जीतपुरका स्थापित युवा व्यवसायी एवम् गुप्ता इन्टरप्राईजेजका संचालक गजेन्द्रकुमार गुप्तासँग निर्वाचन र उहाँका योजनाका केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानीः

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा तपाईंले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ, चुनावी मैदानमा होमिइरहँदा कस्तो अनुभव गरिरहनुभएको छ र माहोल कस्तो पाउनुभएको छ ?

चुनावी मैदानमा उत्रिँदा म निकै उत्साहित र ऊर्जावान् महसुस गरिरहेको छु । मैले नगरका साना, मझौला र ठूला सबै तहका व्यवसायी साथीहरूलाई भेटिरहेको छु । सबैतिरबाट अत्यन्तै सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाइरहेको छु । व्यवसायी साथीहरूले अब संघमा एउटा कुशल, सक्रिय र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो पक्षमा उभिने युवा नेतृत्व आओस् भन्ने चाहना राख्नुभएको छ । यो चुनावी माहोलले मलाई व्यवसायीका सुखदुःख अझ नजिकबाट बुझ्ने र उहाँहरूको हकहितका लागि दृढ भएर लाग्ने थप प्रेरणा दिएको छ ।

तपाईं यसअघिको कार्यसमितिमा वाणिज्य उपाध्यक्षको रूपमा काम गरिसक्नुभएको व्यक्ति हुनुहुन्छ, अघिल्लो कार्यकालको त्यो अनुभवले अहिले अध्यक्षको उम्मेदवार बन्न कत्तिको मद्दत पुर्यायो ?

अघिल्लो निर्वाचनमा उद्योगी, व्यवसायीले ममाथि ठूलो विश्वास गरेर तीन सय मतसहित वाणिज्य उपाध्यक्षमा निर्वाचित गराउनुभएको थियो । त्यो कार्यकालमा मैले निकै सक्रिय भएर संस्था र व्यवसायीको हितमा काम गरे । वाणिज्य उपाध्यक्षका रूपमा काम गर्दा संस्थाको आन्तरिक प्रणाली, व्यवसायीका वास्तविक समस्या, स्थानीय प्रशासन र सरकारसँग गर्नुपर्ने समन्वयका विषयमा मैले नजिकबाट अनुभव हासिल गर्ने अवसर पाएँ । त्यही अनुभव, दक्षता र व्यवसायीहरूसँगको निरन्तरको सामीप्यले नै मलाई आज संघको नेतृत्व सम्हाल्न सक्छु भन्ने आँट र आत्मविश्वास दिएको हो ।

तपाईं आफैं पनि गुप्ता इन्टरप्राईजेजको संचालक हुनुहुन्छ, एउटा व्यवसायीको नाताले अहिले जीतपुरसिमरा क्षेत्रका उद्योगी व्यवसायीहरूले भोग्नुपरेका मुख्य समस्याहरू के–के देख्नुभएको छ ?

म व्यवसायीका सानाभन्दा साना र ठूला समस्याहरू राम्रोसँग बुझ्दछु । अहिले बजार व्यवस्थापनको अभाव छ, मुख्य बजारहरूमा व्यवस्थित पार्किङ र शौचालय जस्ता आधारभूत पूर्वाधार समेत छैनन् । अर्कोतर्फ व्यवसायीहरूमाथि करको बोझ र झन्झटिलो कर प्रणाली ठूलो समस्या बनेको छ । व्यवसायमा अचानक आउने संकट वा आकस्मिक समस्या समाधानका लागि दह्रो संस्थागत ओत छैन । साना तथा घरेलु उद्योगीहरूले क्षमता अभिवृद्धि र बजार प्रवर्द्धनमा उपयुक्त साथ पाएका छैनन् । म यी सबै विद्यमान समस्याहरूलाई जरैदेखि सम्बोधन गर्नका लागि मैदानमा आएको हुँ ।

जीतपुरसिमरा आर्थिक रूपमा निकै रणनीतिक ठाउँ हो, यहाँ सेज (विशेष आर्थिक क्षेत्र) छ र यो देशकै ठूलो औद्योगिक करिडोर पनि हो, यो विशिष्टतालाई तपाईं कसरी उपयोग गर्नुहुन्छ ?

हाम्रो भौगोलिक र आर्थिक अवस्थिति देशकै लागि एक वरदान हो । सिमराको विशेष आर्थिक क्षेत्रमा उद्योगहरू स्थापना हुने क्रम सुरु हुनु, देशकै ठूलो नाका वीरगन्ज–रक्सौलको नजिक हुनु, १५ मिनेटको हवाई उडानमा काठमाडौंसँग जोडिने विमानस्थल हुनु र पर्यटनको केन्द्र पर्सा राष्ट्रिय निकुञ्ज यही हुनु हाम्रा सबल पक्ष हुन् । यहाँ साना, घरेलुदेखि ठूला सयौं उद्योगहरू छन् । म अध्यक्ष भएपछि यी सबै पक्षलाई जोडेर संघको भूमिकालाई अझ सशक्त बनाउनेछु । हामी उद्योग अनुकूल वातावरण निर्माण गर्न, स्वदेशी तथा विदेशी लगानी भित्राउन र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्नका लागि नीति निर्माण तहमा बलियो पैरवी गर्नेछौं ।

तपाईंको बाचापत्रमा व्यवसायजन्य समस्या समाधान कोष र कर प्रणालीमा सुधारका कुराहरू समेटिएका छन्, यसलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?

उद्योगी व्यवसायीलाई व्यापार व्यवसाय गर्दा जुनसुकै बेला पनि आकस्मिक संकट वा समस्या आइलाग्न सक्छ । त्यस्तो अवस्थामा व्यवसायी एक्लो नहोस् भन्नका लागि संघकै पहलमा हामी एउटा विशेष व्यवसायजन्य समस्या समाधान कोष स्थापना गर्नेछौं, जसले तत्कालै राहत र अभिभावकत्व प्रदान गर्नेछ । जहाँसम्म करको सवाल छ, हामी उद्योगी व्यवसायीलाई कर सम्बन्धी सचेतना अभियान त चलाउँछौं नै, सँगसँगै स्थानीय सरकारसँग बलियो समन्वय गरेर व्यवसायीहरूमाथि लगाइएका अव्यावहारिक र झन्झटिला कर प्रणालीलाई परिमार्जन गरी व्यवसायी अनुकूल र सहज बनाउन सशक्त पहल गर्नेछौं ।

बजार पूर्वाधार, डिजिटल रूपान्तरण र स्थानीय उत्पादन तथा कृषिको प्रवर्द्धनका लागि तपाईंको कार्यसमितिले कस्ता ठोस कदमहरू चाल्नेछ ?

हामी परम्परागत ढंगले मात्र संघ चलाउने छैनौं । संघका सम्पूर्ण सेवाहरूलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरी सदस्यहरूलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउनेछौं । जीतपुर, गुदरी बजार र सिमरा बजार लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा स्थानीय सरकारसँग मिलेर पार्किङ, सरसफाइ, सुरक्षा र व्यवस्थित सार्वजनिक शौचालय जस्ता पूर्वाधार बनाउन आवश्यक पहल गर्नेछौं । प्रत्येक तीन महिनामा व्यवसायी सुरक्षा र गुनासो सम्बोधनका लागि अन्तरक्रिया गर्नेछौं । युवा र महिला उद्यमीहरूका लागि तालिम र प्रशिक्षण दिई दक्ष जनशक्ति उत्पादन गर्ने तथा स्थानीय कृषि उत्पादन भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना गर्न र व्यापार मेलाहरू आयोजना गरेर स्थानीय उत्पादनको प्रवद्र्धन गर्न हामी दृढताका साथ लाग्नेछौं ।

अन्त्यमा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका सम्पूर्ण मतदाता एवम् उद्योगी व्यवसायीहरूलाई के अपिल गर्न चाहनुहुन्छ ?

म सम्पूर्ण आदरणीय उद्योगी, व्यवसायी र मतदाता साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भने, हाम्रो संघलाई अब गफ गर्ने होइन, काम गर्ने नेतृत्व चाहिएको छ । हामीसँग स्पष्ट दृष्टिकोण, दक्षता, अनुभव र कुशलता छ । हामी संघलाई पारदर्शी, जवाफदेही, सक्रिय र सबै वर्ग, समुदाय तथा भूगोलका व्यवसायीहरू अटाउने एउटा साझा मञ्च बनाउन चाहन्छौं । हामी कुनै पनि समस्याको सहमतिमा समाधान खोज्ने संस्कृति विकास गर्नेछौं । त्यसैले असार ७ गते हुने निर्वाचनमा म र मेरो प्यानललाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्