बारामा बस दुर्घटनाः ११ जना घाइते, चालक फरार

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका १० स्थित नितनपुर चोकमा आइतबार बिहान करिब ११ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय जीतपुर, इलाका प्रहरी कार्यालय सिमरा तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थल पुगेर तीव्र रूपमा उद्धार कार्य अघि बढाएको थियो ।
उद्धार गरिएका घाइतेहरूमध्ये सात जनाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा सामान्य अवस्थामा उपचार भइरहेको छ भने सिराहाका ६२ वर्षीय चिनीलाल श्रेष्ठको छातीमा गम्भीर चोट लागेकाले उनको वीरगञ्जकै तराई अस्पतालमा उपचार भइरहेको छ ।
अन्य केही घाइतेहरू भने सामान्य उपचारपछि आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । दुर्घटनालगत्तै बस चालक फरार भएकाले हाल प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाएर आफ्नो नियन्त्रणमा लिइसकेकाले दुर्घटनापछि सडक यातायात प्रभावित नभई नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिएको छ ।







