पत्रकारलाई छात्रवृत्ति, लेखनवृत्ति र सञ्चार सामग्रीमा अनुदान दिने तयारी गर्दैछौंः अध्यक्ष खड्गा

निजगढः आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गाले पत्रकारको क्षमता विकास तथा सञ्चारमाध्यम प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम ल्याउन लागिएको बताएका छन् ।
बाराको निजगढमा आयोजित ‘संघीयता सबलीकरणबारे समाचार लेखनसम्बन्धी दुई दिने आवासीय कार्यक्रम’को समापन समारोहलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष खड्गाले पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न योजना कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए।
उनले विभिन्न विधामा पत्रकारिता पुरस्कार प्रदान गर्ने, पत्रकारिता अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने तथा लेखनवृत्तिको व्यवस्था गरिने बताए । यसैगरी पत्रकारका लागि आवश्यक सञ्चार सामग्री खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने तयारी भइरहेको उनको भनाइ थियो।
अध्यक्ष खड्गाले सञ्चारमाध्यमको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइने पनि स्पष्ट पारे । उनले सञ्चारमाध्यमको प्रवर्द्धन र सशक्तीकरणका लागि आमसञ्चार प्राधिकरणले आवश्यक पहल र कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।







