निजगढमा एक स्थानीयमाथि दाउ प्रहार

सिमराः बाराको निजगढ नगरपालिका–१ सिंगौलमा सोमबार एक स्थानीयमाथि घरेलु हतियार दाउ प्रहार भएको छ । स्थानीय ५० वर्षीय धनबहादुर घिमिरेले सोही ठाउँका ४० वर्षीय मानबहादुर योञ्जनमाथि मासु काट्ने धारिलो हतियार दाउले प्रहार गरेका हुन् ।
दाउ प्रहारबाट योञ्जनको गर्दनमा गहिरो चोट लागेको छ । घटनालगत्तै गम्भीर घाइते योञ्जनलाई उद्धार गरी तत्काल निजगढस्थित सिटी अस्पताल पुर्याइएको थियो । उनलाई त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।
चोट गम्भीर प्रकृतिको भएकाले योञ्जनका परिवारले उनलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लगेका हुन् । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीले घाइते योञ्जनको अवस्था हाल खतरामुक्त रहेको बताए ।
प्रहरीका अनुसार घटना के–कति कारणले भएको हो भन्ने कुरा अझै खुल्न सकेको छैन । स्थानीयका अनुसार घटना हुनुअघि उनीहरूबीच कुनै पनि किसिमको सामान्य विवाद वा भनाभन समेत भएको थिएन । एक हार्डवेयर पसलमा सिमेन्टको पैसा तिर्न गएका बेला त्यहाँ रहेका घिमिरेले उनीमाथि अचानक दाउ प्रहार गरेका हुन् ।
घटनालगत्तै खटिएको ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट सिंगौलको संयुक्त प्रहरी टोलीले आक्रमणमा संलग्न घिमिरेलाई नियन्त्रणमा लिएको छ । घिमिरेमाथि अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।







