पर्सामा प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ, लाखौँको अवैध औषधि बरामद

वीरगञ्जः सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
गण र सीमा सुरक्षा गुल्म वीरगञ्जको संयुक्त टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई संकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो ।
सो क्रममा ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागूऔषध फेला परेको हो ।
गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाका अनुसार बरामद गरिएका लागूऔषधहरूमा डाइजापाम इन्जेक्सन २०० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन २०० एम्पुल र बुप्रेनोर्फिन इन्जेक्सन २०० एम्पुल रहेका छन् ।
उक्त लागूऔषध, ई–रिक्सा र ती महिलासहित पक्राउ परेका अन्य दुई जनालाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरीले वीरगञ्जबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका ठूलो परिमाणका औषधि बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका १ स्थित छपकैया सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको गाडी मोबाइल टोलीलाई देख्नासाथ सामान ओसारपसार गरिरहेका दुई व्यक्तिहरू सामान छाडेर फरार भएका थिए ।
तस्करहरू फरार भएपछि घटनास्थलबाट सशस्त्र प्रहरीको टोलीले करिब पाँच लाख रुपैयाँ बराबरको चार कार्टुन भिटामिनलगायतका औषधि बरामद गरेको हो ।
बरामद गरिएका ती अवैध औषधिहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।







