श्रीमतीको हत्या गरी फरार रहेका प्रतिवादी पाँच वर्षपछि पक्राउ


eShilalekh

२३ असार २०८३, मंगलवार १२:२८

सप्तरीः सप्तरी प्रहरीले श्रीमती हत्याको आरोपमा फरार रहेका एक प्रतिवादीलाई पाँच वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदेबरसाइन नगरपालिका ४ सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् । प्रहरीले उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

घटना विवरण अनुसार वि.सं. २०७६ साल पुस १७ गते राति १२ बजे रुन्जेले आफ्नै श्रीमती गीता देवी सदायको हत्या गरेको आरोप छ । उनीहरूबीच नवजात छोरीको जन्म हुनासाथ मृत्यु भएको विषयलाई लिएर विवाद भएको थियो ।

सोही विवाद उग्र बन्दा रुन्जेले श्रीमतीको हत्या गरेको र घटनालत्तै उनी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले जानकारी दिए । मृतक गीताका बुवा सुकराती सदाले दिएको जाहेरीका आधारमा प्रहरीले रुन्जेविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

पक्राउ परेका सदायलाई सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्