रौतहटमा सामूहिक जबर्जस्ती करणीको आरोपमा एक नेपालीसहित चार भारतीय नागरिक पक्राउ

रौतहटः रौतहटको सदरमुकाम गौरस्थित एक होटलमा २२ वर्षीया युवतीलाई बन्धक बनाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक नेपालीसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला रौतहट गौर नगरपालिका २ का २५ वर्षीय सन्तोष राउत, भारतको मजफरपुर जिल्ला कल्याणी पंचायत २४ का ३३ वर्षीय मो. ताजुदिन, मैरोवन पंचायत २ का ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पंचायत १ का ३८ वर्षीय हसनैन आलम र पंचायत ४ का ३४ वर्षीय आलोक कुमार रहेका छन् ।
आइतबार दिउँसो गौरस्थित होटल सुष्मा प्यालेसमा युवतीलाई बन्धक बनाएर सामूहिक रूपमा करणी भइरहेको विशेष सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।
पीडित युवतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले उनिहरुविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित युवतीको प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको र घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै गम्भीरताका साथ थप अनुसन्धान अगाडि बढाईएको छ ।







