रक्सौल नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी महिला नियन्त्रणमा

वीरगञ्जः नेपाल–भारत सीमास्थित रक्सौल नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने प्रयास गरेकी एक युक्रेनी महिलालाई भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएको छ ।
भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लामा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले ती महिलालाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीसँग नेपाल प्रवेशका लागि आवश्यक पर्ने कुनै पनि वैध कागजात र भिसा नभएको फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय गुप्तचर तथा सुरक्षा निकायहरूले महिलासँग विस्तृत सोधपुछ सुरु गरेका छन् । उनी कुन माध्यमबाट भारत आइपुगिन्, वैध कागजात बिना नेपाल जानुको मुख्य उद्देश्य के थियो, र यस घटनामा अन्य कुनै व्यक्ति वा आपराधिक सञ्जालको संलग्नता छ कि छैन भन्ने विषयमा अधिकारीहरूले अनुसन्धान केन्द्रित गरेका छन् ।
यस घटनापछि सीमा क्षेत्रमा सुरक्षा निगरानी र गस्तीलाई थप कडा पारिएको छ भने घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको सुरक्षा निकायले जनाएको छ ।







