जग्गा विवादमा चक्कु प्रहार, एक जनाको मृत्यु

रौतहट: जग्गासम्बन्धी विवादका क्रममा भएको चक्कु प्रहारबाट मंगलबार राति रौतहटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ईशनाथ नगरपालिका-१ बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन्।
प्रहरीका अनुसार चक्कु प्रहारबाट साहको पिठ्युमा गम्भीर चोट लागेको थियो । उपचारका लागि उनलाई प्रादेशिक अस्पताल गौर लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा घाइते उनका ससुरा रामबहादुर साहको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनी लामो समयदेखि औरैयास्थित आफ्ना ८० वर्षीय ससुराको घरमा बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा २६ वर्षीय राममहेश्वर साह र उनका ६३ वर्षीय बाबु रामाऔतार साहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।
स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद उग्र बन्दा उक्त घटना भएको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।







