सात दिन अगाडि पुत्रलाभ गरेका किशोरले दुर्घटनामा गुमाए ज्यान

सिमराः पथलैया-वीरगन्ज सडकखण्ड अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा बुधबार बिहान भएको एक मोटरसाइकल दुर्घटनामा सिमराका ४० वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको छ ।
वीरगन्जबाट सिमरा फर्कने क्रममा श्रेष्ठले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको थियो । बिहान ५ः३० बजे भएको दुर्घटनालगत्तै उनलाई उपचारका लागि अस्पताल लगिए पनि बिहान ७ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले जानकारी दिए ।
श्रेष्ठ परिवारसहित जीतपुरसिमरा उपमहानगरपालिका-१ सिमरास्थित जगदम्बा स्टील्स् अगाडि बस्दै आएका थिए । यसअघि प्रहरीले दिएको सूचनामा पर्साको ठोरी गाउँपालिका-६ भनिएपनि उनको परिवार पछिल्लो समय भने सिमरामा बस्दै आएको थियो ।
उनको परिवार पर्साको ठोरीबाट सिमरा आएको हो । प्रहरीले दिएको प्रारम्भिक विवरणमा मृतकको नाममा समेत त्रुटी भएको थियो । उक्त विवरणमा मृतक किशोर श्रेष्ठ हुनुपर्नेमा इश्वर श्रेष्ठ उल्लेख थियो ।
मृतकका मामा अमृतलाल श्रेष्ठका अनुसार किशोर आफन्तलाई वीरगन्ज पुर्याएर सिमरा फर्कदै थिए । सोही समयमा उनले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हो ।
किशोरले सात दिन अघि मात्रै पुत्रलाभ गरेका थिए । घरमा नयाँ सदस्य छोराको आगमनको खुसीयाली छाएको हप्तादिन नपुग्दै किशोरको दुर्घटनामा ज्यान गएपछि श्रेष्ठ परिवार गहिरो शोकमा डुबेको छ ।
उनी सिमरास्थित नेवारी समुदायको दुर्गानगर भिमसेन पुचः खलमा समेत सक्रिय थिए । उनको निधनमा ठोरी र सिमराका स्थानीयले गहिरो दुःख व्यक्त गरेका छन् ।







