सिरहामा एक महिलाको शव फेला, अनुसन्धान जारी

सिरहा: सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। लक्ष्मीपुर पतारी ३ महेशपुरकी ४० वर्षीया रञ्जुदेवी यादवको शव सोही पालिकाको वडा नम्बर ५ र ६ को सीमानामा पर्ने सरस्वती खोलाको उत्तरी किनारमा फेला परेको हो।
स्थानीय अजय यादवले भैँसी चराउने क्रममा शव देखेपछि तत्काल मृतकका आफन्त र प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको छ।
मृतकका बुबा हरिदेव यादवका अनुसार रञ्जुदेवी विगत केही समयदेखि मानसिक समस्याका कारण लक्ष्मीपुर पतारी ५ पथलगडास्थित माइतीघरमा बस्दै आएकी थिइन्।
महिलाको मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयले घटनाबारे तत्कालै ठोस निष्कर्ष निकाल्न नसकिने भन्दै पोस्टमार्टम रिपोर्ट आएपछि थप प्रष्ट हुने र घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ।







