फेसबुकको वेब भर्सनमा प्राविधिक समस्या: देखियो ‘अकाउन्ट टेम्पोरेरिलि अनएभलेबल’ को सूचना


eShilalekh

३ श्रावण २०८३, आईतवार १४:४१

सिमराः लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको वेब भर्सनमा अचानक प्राविधिक समस्या देखिएको छ। आइतबार दिउँसोदेखि प्रयोगकर्ताहरूले वेब ब्राउजरमार्फत आफ्नो फेसबुक खाता लगइन गर्दा वा चलाउँदा विभिन्न समस्याहरूको सामना गरिरहेका छन् ।

वेबसाइट खोल्दा प्रयोगकर्ताहरूको स्क्रिनमा ‘अकाउन्ट टेम्पोरेरिलि अनएभलेबल’ भन्ने सूचना देखाइएको छ। उक्त सूचनामा साइटमा प्राविधिक समस्या आएका कारण सेवा अवरुद्ध भएको र केही मिनेटमा समस्या समाधान हुने उल्लेख गरिएको छ ।

ब्राउजर वा डेस्कटप भर्सनमा यो समस्या देखिए तापनि फेसबुकको मोबाइल एप्लिकेसनमा भने कुनै समस्या नदेखिएको प्रयोगकर्ताहरूले बताएका छन् । मोबाइल प्रयोगकर्ताहरूले सहजै आफ्नो फिड हेर्न र म्यासेज पठाउन सकिरहेका छन् ।

फेसबुकको मातृ कम्पनी मेटाले यस प्राविधिक गडबडीबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। तर स्क्रिनमा देखिएको सूचनाका आधारमा यो फेसबुकको आन्तरिक सर्भर वा प्राविधिक गडबडीका कारण भएको र यसलाई सुधार गर्ने प्रयास भइरहेको बुझ्न सकिन्छ।

धेरै प्रयोगकर्ताहरूले आफ्नो एकाउन्ट मात्र ब्लक वा ह्याक भएको आशंका गरे तापनि यो विश्वव्यापी रूपमै डेस्कटप भर्सनमा देखिएको साझा समस्या हो।

प्रतिक्रिया दिनुहोस्