राष्ट्रिय सहकारी नियमनको मापदण्डपछि हातेमालो सहकारीको ‘जीवनवृत्ति’ बचत खाता बन्द हुँदै

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगत १४ वर्षदेखि सञ्चालन गर्दै आएको ‘जीवनवृत्ति’ नामक मासिक बचत खाता बन्द गर्ने भएको छ । सहकारी नियमनकारी निकायहरूको निर्देशन तथा मापदण्ड बमोजिम संस्थाले आगामी २०८३ श्रावण महिनादेखि उक्त खाता पूर्ण रूपमा बन्द गर्न लागेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरूको नियामक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणले २०८२ जेठ ९ गते जारी गरेको नयाँ मापदण्ड र सोही अनुसार २०८२ चैत ९ गते संस्थालाई पठाएको पत्रका आधारमा यो निर्णय लिइएको हो । साथै स्थानीय नियामक निकाय जीतपुरसिमरा उपमहानगरपालिकाले २०८३ असार १७ गते दिएको निर्देशन र संस्थाको सञ्चालक समितिको २०८३ असार ३२ गतेको बैठकको निर्णयानुसार उक्त बचत योजना स्थगन गरिएको संस्थाका सचिव चुडामणी गौतमले जानकारी दिए ।
संस्थाले ‘जीवनवृत्ति’ बचत खातामा नियमित रकम जम्मा गर्दै आएका आफ्ना सम्पूर्ण सदस्यहरूलाई सूचना जारी भएको मितिले ३५ दिनभित्र आफ्नो बचत रकम आ-आफ्नो हिसाबले व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
तोकिएको समयावधिभित्र विविध कारणले रकम व्यवस्थापन गर्न नसक्ने सदस्यहरूको हकमा भने सो रकम सम्बन्धित सदस्यहरूकै नाममा रहेको संस्थाको अन्य बचत खातामा सारेर सुरक्षित राखिने व्यहोरा सूचनामार्फत स्पष्ट पारिएको छ ।








