रास्वपा सांसद मनिष झाले भने ‘सरकार संचालनमा ढंग पुगेन, गाडीको स्टिकरसँगै कालो चस्मा पनि हटाऔं’


eShilalekh

२२ श्रावण २०८३, शुक्रबार १८:२३

सिमराः धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व प्रवक्ता मनिष झाले वर्तमान सरकारको नीतिका योजना सही भए पनि सञ्चालनको ढंग नपुगेको भन्दै कडा टिप्पणी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले सरकारलाई आफ्नो कमजोरी स्वीकार गरेर कार्यशैलीमा सुधार ल्याउन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले लोकतान्त्रिक राज्य प्रणालीमा ‘राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास’ मुख्य मूलमन्त्र हुनुपर्नेमा जोड दिए। ‘सरकारको इन्टिग्रिटी र नियतमा कुनै शंका छैन, तर कता कता सरकार सञ्चालनमा ढंग नपुगेको हो कि भन्ने लाग्छ। यो कुरा सरकारले स्वीकार्नुपर्छ’ उनले भने।

मुलुकको दिगोपनमा योगदान पुऱ्याउने मधेश, प्रवास र निजी क्षेत्र अहिले असुरक्षित रहेको भन्दै सांसद झाले सरकारको ध्यानाकर्षण गराए । विशेष गरी मधेशको सीमावर्ती क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकप्रति गरिने असमान व्यवहारमाथि उनले प्रश्न उठाए ।

मुलुकको अर्थतन्त्रको मेरुदण्ड रहेको निजी क्षेत्र सरकारको नीतिका कारण त्रसित बनेको सांसद झाको दाबी छ। नागरिक र व्यवसायीहरू सुरक्षा निकाय वा राज्य प्रशासन देखेर तर्सिनुपर्ने अवस्था सृजना हुनु दुःखद रहेको उनले बताए । अर्थ मन्त्रालयले गरेका प्रयासहरू कागजमा मात्र सीमित रहेको आरोप लगाउँदै उनले निजी क्षेत्रलाई आत्मविश्वास दिलाउन, बैंकमा रहेको पैसा लगानी गर्ने वातावरण बनाउन र गाडीको कालो सिसासँगै मानसिकताको ‘कालो चश्मा’ पनि हटाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्