योङ ब्वाईज पथलैया टाउन कपको फाइनलमा प्रवेश

सिमराः योङ ब्वाईज युनाइटेड क्लब दोस्रो पथलैया टाउन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थानीमाई मैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा महेन्द्रनगर फुटबल क्लबलाई पराजित गर्दै योङ ब्वाईज फाइनलमा प्रवेश गरेको हो ।
उपाधी होडमा उभिने क्रममा योङ ब्वाईजले महेन्द्रनगरलाई २-० गोलले पराजित गरेको छ । रोमाञ्चक भिडन्तको अन्तिम समयमा दुई गोल गर्दै योङ ब्वाईजले नतिजा आफ्नो पक्षमा पारेको हो ।
प्रतियोगिता अन्तर्गत सोमबार औराह फुटबल क्लब र निजगढ एफसीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । पथलैया टाउन एफसीको आयोजनामा जारी सिक्स-ए-साइड फुटबल प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछन् ।







