बाराका प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखबीच वार्षिक कार्यसम्पादन करार सम्झौता

सिमराः शान्ति सुरक्षा, अपराध नियन्त्रण र प्रहरी सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मातहतका इलाका प्रहरी कार्यालयका प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करार सम्झौता गरेका छन् । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि सम्पादन गर्नुपर्ने जिम्मेवारी, तोकिएका लक्ष्य र कार्ययोजनालाई थप स्पष्ट र व्यवस्थित बनाउन सम्झौता गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी उपरीक्षक कुँवर र इलाका प्रहरी कार्यालयका प्रमुखहरूबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता गर्ने कार्यालय प्रमुखहरूमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्ट, कोल्हबीका प्रहरी निरीक्षक बुद्धीमान चोङवाङ, बारागढीका प्रहरी निरीक्षक सविनकुमार कार्की, प्रसौनीका प्रहरी निरीक्षक सुमन लामा र सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह रहेका छन् ।
सम्झौताको मुख्य ध्येय जिल्लाभित्र शान्ति सुरक्षा सुदृढ बनाउनु, अपराध रोकथाम तथा अनुसन्धानलाई तीव्र पार्नु र सम्भावित विपद व्यवस्थापनका कार्यलाई चुस्त बनाउनु रहेको प्रहरी उपरीक्षक कुँवरले बताए । उनका अनुसार बारा जिल्लाको समग्र सुरक्षा अवस्था र आवश्यकताको सूक्ष्म विश्लेषण गरी सोही अनुसारका प्राथमिकताहरू निर्धारण गरेर कार्यसम्पादन करार तयार गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेलगायत अन्य प्रहरी अधिकारी उपस्थित थिए ।







